गौरादह / झापाको गौरादह नगरपालिका १ मा सार्वजनिक तथा सरकारी कार्यालय निर्माणका लागि जग्गा प्रदान गर्ने ७६ जना जग्गादातालाई सामुहिक सम्मान गरिएको छ । गौरादह नगरपालिका वडा नं. १ को आयोजनामा भएको ’भूमिदाता सम्मान कार्यक्रममा जग्गादाताहरूलाई सम्मान गरिएको हो ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की प्रमुख अतिथि तथा कोशी प्रदेशका सभामुख अमरबहादुर विष्ट विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सार्वजनिक तथा सरकारी कार्यालय निर्माणका लागि आफ्नो जग्गा उपलब्ध गराउने जग्गादाताहरूको योगदानको प्रशंसा गर्दै उनले सार्वजनिक संरचना निर्माणमा स्थानीयको सहयोग महत्त्वपूर्ण हुने बताए ।

मुख्यमन्त्री कार्कीले गौरादह क्षेत्रको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै गौरादह पोखरीलाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले पहल गरिरहेको उल्लेख गरे । उनले गौरादहमा भइरहेका सडक, भौतिक पूर्वाधार तथा अन्य विकास निर्माणका कामको चर्चा गर्दै विकासका योजनालाई प्रभावकारी रूपमा अघि बढाउन प्रदेश सरकार, स्थानीय तह र स्थानीयवासीबीच सहकार्य आवश्यक रहेको धारणा राखे ।
कार्यक्रममा विशिष्ट अतिथि सभामुख अमरबहादुर विष्टले सार्वजनिक प्रयोजनका लागि जग्गा दान गर्ने व्यक्तिहरूको योगदानको चर्चा गर्दै यस्ता कार्यले समाजको विकासमा सहयोग पुग्ने बताए । सार्वजनिक संरचना निर्माणका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जग्गा उपलब्ध गराउनु सामाजिक उत्तरदायित्वको उदाहरण भएको उनको भनाइ थियो ।
गौरादह नगरप्रमुख छत्रपति सुवेदीले नगरको विकासका लागि जग्गादाताहरूले पुर्याएको योगदानको प्रशंसा गरे । सार्वजनिक तथा सरकारी कार्यालयका संरचना निर्माणमा स्थानीयको सहयोगले विकासका काम अघि बढाउन सहज हुने उल्लेख गर्दै उनले जग्गादाताहरूको योगदानको सम्मान गर्नुपर्ने बताए ।
निवर्तमान नगरप्रमुख रोहितकुमार शाहले पनि सार्वजनिक संरचना निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाताहरूको योगदानको चर्चा गरे । स्थानीयको सहयोग र सहभागिताले नगरको विकासलाई गति दिन सक्ने उल्लेख गर्दै उनले जग्गादाताहरूको योगदानलाई महत्त्वपूर्ण सामाजिक कार्यका रूपमा लिनुपर्ने बताए ।
गौरादह नगरपालिका १ का वडाध्यक्ष नगेन्द्र भण्डारीले सार्वजनिक तथा सरकारी कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउने ७२ जना भूमिदातालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए । वडाको विकास र सार्वजनिक संरचना निर्माणमा जग्गादाताहरूले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उनले उनीहरूको सहयोगले आगामी दिनमा विकास निर्माणका कामलाई थप सहज बनाउने विश्वास व्यक्त गरे ।
भण्डारीले सार्वजनिक हितका लागि जग्गा प्रदान गर्ने दाताहरूको योगदानको कदर गर्न र भावी पुस्तालाई पनि सामाजिक सेवाप्रति प्रेरित गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताए ।
