काठमाडौं/ पार्टीमा नयाँ पुस्ताको हस्तक्षेप बढाएको नेपाली कांग्रेसले आसन्न चुनावमा पार्टीका नवनिर्वाचित सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर चुनावमा होमिने निर्णय गरेको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।
विगतमा निर्वाचनपछि संसदीय दलको नेता चयन गर्ने अभ्यास रहेको उल्लेख गर्दै उपभासपति शर्माले यस पटक मतदातालाई सजिलोका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरिएको बताए। यसले मतदातालाई कुन पार्टीलाई मत दिने भन्ने निर्णय गर्न सजिलो हुने उनको भनाइ थियो। सभापति थापासहित केन्द्रिय नेताहरु भर्खरै सकिएको विशेष महाधिवेशनपछि पहिलो पटक केन्द्रिय कार्यालय सानेपामा पुगेका हुन् ।