दमक/  नेपाली कांग्रेस दमक नगर समितिको पूर्ण बैठकले अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रम सञ्चालनसहित विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले २२ वैशाखदेखि २६ बैशाख सम्म वडास्तरमा सञ्चालन गर्ने अभिमुखिकरण कार्यक्रमको तालिका समेत पारित गरेको छ । पार्टी नगर सचिव दिपेश दाहालका अनुसार नगर सभापति प्रकाश प्रसाइँको अध्यक्षतामा बसेको बैठकले २२ बैशाखमा वडा नम्बर ९ देखि यो कार्यक्रम शुरु गर्ने तालिका बनाएको छ ।
त्यसैगरी बैठकले नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका दमक ३ निवासी माधव बस्नेतको दुर्घटनामा परी भएको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ भने सो दुर्घटनाका घाईतेहरु दमक १० का वडाध्यक्ष समेत रहेका कांग्रेस नेता राजेन्द्र भण्डारी, दमक नगरपालिकाका न्यायिक समिति सदस्य कमल श्रेष्ठ सहित जनप्रतिनिधिहरु र कर्मचारीहरु ज्ञानेन्द्र गौतम, नविन खतिवडा, भुवन दाहालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
त्यसैगरी कांग्रेसले हाल भईरहेको पार्टी क्रियाशील सदस्यता नविकरण आगामी बैशाख मसान्त भित्र अनिवार्य रुपमा गरिसक्न मातहतका सबै वडा समितिहरुलाई निर्देशन दिने पनि निर्णय गरेको छ । त्यस्तै दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै नविकरणका लागि थपिएको म्याद असार मसान्त भित्र पार्टी सम्बद्ध सम्पुर्ण ब्यवसायी तथा शुभचिन्तकहरुलाई आआफ्नो व्यवसायिक फर्मको सदस्यता नविकरण गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

Facebook Comments Box