एलपी साँवाको रोजाईमा २७ योजना, प्राथमिकतामा शिवसताक्षी, बैगुन्धुरामा शुन्य

Author Nishkarsha News
२०७६ मंसिर १, आईतवार १५:१४

दमक/ झापा क्षेत्र नं ४ का सांसद एलपी साँवाको क्षेत्र विकास कोष अन्तर्गतको बजेट तथा योजनाहरुमा आफ्नै नगर शिवसताक्षी नगरपालिका प्राथमिकतामा परेको छ ।

चालू आर्थिक बर्षमा सो कोषमार्फत प्राप्त हुने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ६ करोड रुपैयाँ बराबरका कूल २७ योजना मध्ये १५ वटा योजना शिवसताक्षी नगर भित्रका छन् । ति मध्ये ३ वटा योजनाका लागि ५० लाख रुपैयाँका दरले डेढ करोड रुपैयाँ विनियोजन भएको सार्वजनिक भएको छ । सोही नगरका अन्य १२ वटा योजनाहरुमा कम्तीमा १० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको छ ।

शिवसताक्षी नगरपछि सांसद साँवाको प्राथमिकतामा सो क्षेत्रमा पर्ने झापा गाउँपालिका परेको छ । झापा गाउँपालिका अन्तर्गतका ६ वटा योजनालाई सांसद साँवाको क्षेत्र विकास कोषबाट कम्तीमा १० देखि २३ लाख ७० हजार रुपैयाँ सम्म बजेट विनियोजन गरिएको छ भने कन्काई नगरपालिकाका ३ र गौरीगञ्ज गाउँपालिकाका दुई वडाका एक /एक वटा योजनालाई सो बजेटले समेटेको छ ।

साँसद साँवाको क्षेत्रमा पर्ने तत्कालिन बैगुन्धुरा गाविस हालको गौरादह ९ का लागि कुनै पनि बजेट तथा योजना समावेश छैन । बैगुनधुराका कतिपय सर्वसाधारण बासिन्दाले सांसद साँवाले आफूहरुलाई उपेक्षा गरेको भन्दै सामाजिक सञ्जालहरुमा टिप्पणी समेत गरिरहेका छन् ।
निर्वाचित संघीय सांसदको रोजाईमा आफ्नो क्षेत्रमा पूर्वाधार विकासमा ६ करोड रुपैयाँ खर्चिन पाउने व्यवस्था भए अनुसार ति योजनाहरु सांसद साँवाको रोजाईमा परेका हुन् । त्यस किसिमका योजनाहरुको छनौटमा सांसदको सम्बन्धित पार्टीको स्थानीय नेतृत्वले भुमिका निर्वाह गर्ने गरेको छ ।

नेकपाका सो क्षेत्रका एक जना नेता ढुण्डीराज गुरागाँईले निश्चीत बजेट र जनताका चाहना असिमित हुने भएका कारण एकैपटकमा सबै चाहना पूरा हुन नसक्नु स्वभाविक भएको प्रतिक्रिया दिनु भयो । उहाँले संघीय सांसदको बजेटले समेट्न नसकेका भुगोलका योजनाहरुलाई प्रदेश सांसदको बजेट तथा योजनाहरुमा समावेश गरेर सम्बोधन गरिने जनाउनु भयो । उहाँले आवश्यकताका आधारमा छनौट गरिएका ति योजनाहरुको कार्यान्वयनमा सबैको साथ आवश्यक रहेको पनि बताउनु भयो । शिवसताक्षी नगरपालिका भौगोलिक र जनसंख्या समेतको हिसाबले ठुलो रहेको र सो नगरको भुगोलमा २ वटा प्रदेश संसद परेका कारण पनि स्वभाविक रुपमा सो नगरमा बढी योजना परेको अनुभती भएको जिकिर गर्नुभयो ।

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्