दमक/ झापाको दमक नगरपालिका ७ नम्बर वडामा सरोकारवालाहरुले बाल श्रम र बाल बिबाह मुक्त घोषणाका लागि प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।
बालमैत्री स्थानीय शासन वडा समितिले वडा कार्यालय परिसरमा आज बिहिबार आयोजना गरेको कार्यक्रमबीच बालमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण र बालश्रम, बाल बिबाह मुक्त टोल घोषणा तथा प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् ।
समितिका अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वडाका विभिन्न टोल बिकास संस्था, वडास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु तथा सरोकारवालाहरुले सामुहिक प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा दमक नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख सरिता भण्डारीले बाल मैत्री स्थानीय शासनको अवधारणा, बालबालिका सम्बन्धि बिद्यमान कानुनी व्यवस्था, स्थानीय सरकारले बालमैत्री घोषणाका लागि गरिरहेका प्रयासहरु, बालमैत्री समाज निर्माणमा अभिभावक र सरोकारवाला निकायहरुको भुमिकाका बिषयमा समेत जानकारी गराएकी थिइन् ।
सो अवसरमा वडाध्यक्ष पौडेलले २०८२ साल सम्ममा दमकका १० वटै वडा तहमा बालमैत्री घोषणाका लागि चरणवद्ध छलफल, अन्तरक्रियाका माध्यमबाट अभिमुखिकरण सञ्चालन गर्ने, संविधानको मर्म र भावना अनुसार शिक्षा, स्वास्थ्य जस्ता मौलिक हकहरुको रक्षा गर्ने प्रतिबद्धतामा नगरपालिकाले प्रतिबद्धता जनाइसकेको र सोही अनुसार दमक नगरबासीहरुको घर घरबाट बालमैत्री शासनको अनुभूति दिलाउने प्रतिबद्धताको खाँचो रहेको बताए ।
उनले बालमैत्री घोषणाका लागि ५१ वटा सूचकहरुको कार्यान्वयनको अवस्थाबारे यकिन तथ्याङक संकलन गर्ने काम भइरहेको उल्लेख गरे ।
सो कार्यक्रममा राजनीतिक दलहरुकातर्फबाट नेकपा एमालेका वडा कमिटी अध्यक्ष राधाकृष्ण आचार्य, नेकपा माओवादी केन्द्रका वडा कमिटी सचिव अमन लिम्बु, राप्रपाका बिक्रम सुब्बा, टोल बिकास संस्थाहरुका तर्फबाट सुन्दर देवान, बिद्यालयहरु तर्फ पृथ्वी माविका प्रधानाध्यापक बिष्णु राई, सामाजिक व्यक्तित्व निर्मला पाठक लगायतले बालश्रम र बाल बिबाह मुक्त टोल घोषणामा प्रतिबद्धता मन्तव्य राखेका ७ नम्बर वडा कार्यालयका सचिव योगेश भट्टराईले जानकारी दिए ।
वडाका २७ वटै टोल बिकासबाट यस किसिमको प्रतिबद्धतामा हस्ताक्षर पछि सोको कार्यान्वयनको अवस्थाबारेमा समेत निरन्तर अनुगमन र जनचेतना अभिबृद्धिमा जोड दिइएको वडा सदस्य अतित बान्तवा राईले बताए । सो कार्यक्रममा वडा सदस्यहरु इन्दु खड्का, तारा रणपहेंली र मानबहादुर खवास, होटल व्यवसायी संघ दमकका अध्यक्ष योगराज दंगालसहित वडास्थित नागरिक तथा सामाजिक अगुवाहरुको उपस्थिती रहेको थियो ।