दमक/ सामाजिक तथा राजनीतिक व्यक्तित्व दमक ९ का राजेन्द्र पौडेल र मन्दरा चिमरिया पौडेलले आफ्ना छोरा स्वर्गीय खगेन्द्र पौडेलको स्मृतिमा दमक बहुमुखी क्याम्पसमा २ लाख ५१ हजार रुपैयाँको छात्रवृत्ति कोष स्थापना गरिदिएका छन् ।
पौडेल दम्पत्तीले २०७९ साल फागुनमा अमेरिकाको वोस्टनमा कार दुर्घटनामा परेर ज्यान गुमाएका छोराको स्मृतिमा खगेन्द्र स्मृति छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।
सो छात्रवृृत्ति कोष वापतको रकम आज मंगलबार क्याम्पसमा आयोजित संक्षिप्त कार्यक्रमबीच नेपाली कांग्रेसकी महासमिति सदस्य तथा राष्ट्रिय महिला अधिकार मञ्चकी केन्द्रिय उपाध्यक्ष समेत रहेकी स्वर्गीय खगेन्द्रकी आमा पौडेलले क्याम्पस सञ्चालक समिति अध्यक्ष ढुण्डीराज भण्डारी र क्याम्पस प्रमुख यज्ञराज गिरीलाई सो रकम बराबरको बैंकिङ चेक हस्तान्तरण गरेकी हुन् ।
सो परिवारले स्वर्गीय खगेन्द्रको स्मृतिमा विभिन्न धार्मिक, सामाजिक तथा शैक्षिक संघ संस्थाहरुमा त्यस किसिमको सेवामुलक उद्धेश्यका लागि सहयोग गरिआएका छन् ।
क्याम्पस अध्यक्ष भण्डारी र प्रमुख गिरीले सहयोगी दाता पौडेल परिवारले क्याम्पसमा अध्ययन गर्ने विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुको अध्ययनमा निरन्तरताका लागि अक्षय कोष वापत सो रकम प्रदान गरेकोमा प्रशंसा गर्दै दाता परिवारप्रति धन्यवाद व्यक्त गरेका छन् ।