दमक/ नेकपा माओवादी केन्द्रका युवा नेता एवं सामाजिक तथा शैक्षिक व्यक्तित्व विरेन्द्र बस्नेतले आफ्नो जन्मदिन बिपन्न बालबालिकाहरुसँग खुशी साट्दै मनाएका छन् ।
दमक १ निवासी नेता बस्नेतले आज आइतबार पुष्प धिरेन्द्र प्रतिष्ठान परिसर आसपासका स्थानीय ४० जना बालबालिकालाई न्यानो ज्याकेट वितरण गर्दै चिसो मौसममा पर्ने आफ्नो जन्मदिनमा बालबालिकाहरुलाई न्यानो प्रदान गरेका हुन् ।
प्रतिष्ठानका कार्यकारी निर्देशक समेत रहेका बस्नेत नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सचिवालय सदस्य हुन् । ज्याकेट वितरणसँगै उनले त्यहाँको बगैंचा क्षेत्रमा विरुवा पनि रोपेका छन् ।

नेता बस्नेतले आफ्नो जन्मदिनमा फजुल खर्च नगरी यसपटक आफ्नै ठाउँका बालबालिकाहरुलाई सहयोग गर्ने इच्छा पुरा भएको बताए । उनले आफ्नो जन्मदिनलाई एउटा चेतना, सामाजिक सन्देश प्रवाह गर्ने अवसरका रुपमा उपयोग गर्न पाउँदा खुशी लागेको सुनाए ।
आफ्नो परिवारका अग्रजहरुसहित जन्मदिनमा सो सहयोग प्रदान गरेका बस्नेतले सकारात्मक सोचसहित समाजमा एकअर्काप्रति सहयोग र सदभावको संस्कार बिकास गरिनु अहिलेको आवश्यकता भएको उल्लेख गरे ।
पुष्प र धिरेन्द्र बस्नेत परिवारका दाजुभाई माओवादी जनयुद्धका क्रममा तत्कालिन राज्य पक्षका सेनाद्धारा वेपत्ता पारिएका थिए । उनीहरुको नाममा स्थापित यो प्रतिष्ठान दमकमा प्राविधिक शिक्षालयका रुपमा स्थापित छ ।