दमक/ झापाको दमक ३ ढुकुरपानी नजिकै दापगाछीमा दाताहरुले प्रदान गरेको जग्गामा सरकारी लगानीमा बनेको १८ तले भ्यू टावर प्रस्तावित दमक व्यापारिक कम्प्लेक्सको उदघाटन गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच बर्ष अघि शिलान्यास गरेको यो भ्यू टावरको आइतबार निक्कै तामझामसहित प्रधानमन्त्री ओलीलेनै उदघाटन गरेका छन् । संघीय सरकारको शहरी बिकास मन्त्रालय अन्तर्गतको यो परियोजनामा हाल सम्म १ अर्ब ५६ करोड रुपैयाँ खर्च भएको बताइएको छ ।
उदघाटन पछि बोल्दै प्रधानमन्त्री ओलीले यो टावर , भ्यू टावर नभएर व्यापारिक कम्पलेक्स भवन भएको बताउँदै भने– खोई कसले यसलाई भ्यू टावर भनेछन यो भ्यू टावर नभएर व्यापारिक भवन हो । व्यापारिक कम्पलेक्स हो । यद्यपी यसअघि यो संरचना शिलान्यास गर्दा भने यसलाई भ्यू टावरनै भनिएको थियो । प्रधानमन्त्री ओलीले आज औपचारिक रुपमानै यो टावर नभएर व्यापारिक कम्प्लेक्स भएको बताए ।
उनले भने– यो दमकलाई र झापा जिल्लालाईनै पहिचान दिलाउने चिज हो । भ्यू टावर निर्माणको आलोचना गर्नेहरुलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने– मानिसहरुलाई कुरा बुझाउन अलि समय लाग्छ । पहिला मलाई आफैं यहाँँ यस्तो चिज बन्छ जस्तो लाग्या थिएन । विदेशमा भएका कतिपय अग्ला सपिङ कम्पलेक्स, भवन तथा टावरहरुको उदाहरण दिँदै उनले भविष्यमा यो संरचना पनि त्यस्तै बन्ने दाबी गरे ।
उनले शुरुमा पाँच लाख रुपैयाँ प्रतिकठठ मुल्य पर्ने जग्गाको मुल्य ५० लाख रुपैयाँ कठठ सम्म पुगेको आफूलाई थाह भएको र अहिले कति पुगिसक्यो भन्ने थाह नभएको भनेर जग्गाको भाउ बढ्दाको श्रृखंला सुनाउँदा सहभागीहरुमाझ हाँसो सुनिन्थ्यो ।
उपप्रधानमन्त्री तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा सञ्चालन भएको उदघाटन कार्यक्रमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेस कोशी प्रदेश समिति सभापति उद्धव थापा, दमक नगरपालिकाका प्रमुख रामकुमार थापा लगायतले पनि मन्तव्य राखेका थिए ।
उदघाटन कार्यक्रममा सहभागिताका लागि पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई लैजान नेकपा एमालेले दमकका ठाउँ ठाउँमा यातायातको व्यवस्था मिलाएको थियो ।
कांग्रेस पार्टी कार्यालयमा उपप्रधानमन्त्री सिंह
दमकमा बनेको यो भ्यू टावर यस क्षेत्रका राजनीतिक नेतृत्वहरुबीच मात्रै नभएर राष्ट्रिय राजनीतिमानै चर्चा हुने गरेको परियोजना हो ।
यसको शिलान्यास ओलीले गरेका भए पनि यसका लागि जग्गा प्रदान गर्ने दाताहरु विभिन्न राजनीतिक दलसँग आस्थावान छन् । तर यो परियोजना निर्माणका क्रममा एमालेको नेतृत्व पक्तिं मात्रै हाबी भएको भन्दै कांग्रेस पार्टी कार्यालयमा गुनासो गर्नेहरु उत्तिकै थिए ।

आईतबार सो परियोजनाको उदघाटन कार्यक्रममा सहभागी हुन आएका कांग्रेस नेता एवं उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहसँग स्थानीय नेतृत्वले यस बिषयमा गुनासो गर्दै मन्त्री सिंहको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस केन्द्रिय सदस्य समेत रहेकी महेन्द्रकुमारी लिम्बुले भ्यू टावर निर्माणका क्रममा मात्रै नभएर उदघाटनको संघारमा आइपुग्दा पनि एमाले हाबी भएको र यसलाई एमालेको कार्यक्रम जस्तो गरि प्रचार गरिरहेको टिप्पणी गरिन् ।
भ्यू टावर निर्माणका लागि जग्गा दाता मध्येका एक नारायण बरालले स्थानीयस्तरमा एमालेले एक्लौटी रुपमा भ्यू टावरलाई अघि बढाएको र दाताहरुको मान मर्दन गरेको गुनासो गरे । उनले भने– शुरुमा हामी जग्गादाताहरुको नाम शिलालेखमा राख्ने पनि कुरा भएको थियो अहिले त्यो पनि गरिएन । भ्यू टावरमा एमालेले राजनीति गरिरहेको छ । यसबाट हाम्रो मन दुखेको छ ।
कार्यक्रममा कांग्रेस झापा क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले भ्यू टावरमा एमालेले एकाधिकार जमाएकाले यसको माथिल्लो निकायबाटनै समाधान खोजिनुपर्ने बताए । उनले भ्यू टावरबाट हुने आम्दानीको केही हिस्सा दमक बहुमुखी क्याम्पसलाई समेत दिनु पर्ने माग गरे ।
कार्यक्रममा कांग्रेस झापाका सभापति देउकुमार थेवे, उपसभापति शेरबहादुर भट्टराई, दमक नगर उपप्रमुख एवं कांग्रेस कोशी प्रदेश समिति सदस्य रेगिना भट्टराई प्रसाइँ, पार्टीका कोशी प्रदेश सदस्य एवं कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राई, प्रदेश समिति सदस्यहरु चन्द्रा खड्का भट्टराई, भुमी राई, महासमिति सदस्य सुरेश सुब्बा, अइन्द्र केरुङ लगायत नेता, कार्यकर्ताहरु सहभागी थिए ।
सो अवसरमा कांग्रेस पार्टीको संगठन र नेतृत्वका बिषयमा पनि नेता, कार्यकर्ताहरुले बोलेका थिए ।