दमक/ झापाका दमकका व्यवसायीहरुको प्रतिनिधिमुलक सहभागितामा व्यवसाय सुधार सम्बन्धिको चार दिने कार्यशाला दमकमा शुरु भएको छ ।

दमक उद्योग वाणिज्य संघको आयोजना र अन्तारष्ट्रिय श्रम संगठन (आइएलओ)को सहयोगमा सञ्चालित तालिमको सोमबार संक्षिप्त कार्यक्रमबीच उदघाटन गरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति सदस्य प्रितम खड्गीको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा खड्गीले व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनमा यो तालिमले ठुलो सहयोग पुरयाउने विश्वास व्यक्त गरे ।
उनले स्थानीय सरकारहरुले सञ्चालन गर्ने तालिमहरु औपचारिकतामा सिमित हुने गरेको भन्दै व्यवसायी नेता खड्गीले उपलब्धिमुलक र परिणामदायी तालिमहरु सञ्चलन गर्नुपर्नेमा जोड दिए ।

तालिमका मुख्य प्रशिक्षक बाबुराम रानाभाटले नेपालमा ४० प्रतिशत व्यवसायीहरुले व्यवसाय शुरु गरेर दुई बर्ष नपुग्दै व्यवसाय छोड्ने गरेको र ५ बर्ष नपुग्दै ७५ प्रतिशत व्यवसायीहरु व्यवसायबाट पलायन हुने गरेको तथ्याङक सुनाए । उनले व्यवसायिक ज्ञानको कमिका कारण व्यवसायलाई निरन्तरता दिन नसकिरहेको तथ्य रहेको पनि उल्लेख गरे ।

सो बिषयको प्रशिक्षक प्रशिक्षणमा १० दिन सहभागिता जनाएर फर्किएका दमकका दुई जना व्यवसायीहरु मध्ये सुभासचन्द्र गर्तौलाले अनुभवहरु समेत राखेका छन् ।

दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाइँले व्यवसायीहरुको सीप र ज्ञानको बिकासले मात्रै व्यवसायिक क्षेत्रमा सफलता दिने र परिणामदायी बनाउने भएकाले यस किसिमको कार्यशाला दमकमा राखिएको बताए ।

अध्यक्ष गुरागाइँको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरु, लेखा समिति लगायत दमकका युवा उद्यमी, व्यवसायीहरु करिब ४० जनाको सहभागिता थियो । सो कार्यशाला चार दिन सम्म चल्नेछ ।

 

Facebook Comments Box