काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अवरुद्ध यातायात खुलाउने विषय अहिलेको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
आईतबार मन्त्रालयमा विभिन्न जिल्लाबाट आएका प्रतिनिधीहरुसँगको छलफलमा उहाँले बाढि र पहिरोले भत्किएका सडक मर्मत एवम् पहिरो पन्छाई यातायातलाई सहज बनाउन मन्त्रालयले पहिलो प्राथमिकतामा राखेको बताउनु भएको हो ।
पुल क्षतिग्रस्त भएका स्थानमा बेलिब्रीज राखेर तथा अन्य विकल्पहरुको पहिचान गरि आवागमन सहज बनाउन सडक विभाग मार्फत काम अघि बढाईएको समेत उहाँले जनाउनु भयो ।
यस्तै मन्त्री दाहालले बाढि पहिरोमा परि ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्नु भएको छ ।
ताप्लेजुङकी सांसद उर्मिला थेवे, खोटाङका पूर्व सांसद विशाल भट्टराई लगायतको प्रतिनिधि मण्डलसँग मन्त्री दाहालले छलफल गर्नु भएको हो ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले पहिरो पन्छाउने र सडक खुलाउने कार्यका लागि देशै भरिका आवश्यक स्थानमा प्राविधिक, जनशक्ति तथा उपकरण परिचालन गरिएको बताउनुभयो । यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले विभागले विभिन्न निकायहरु समन्वय गरेर सडकको अवरोध हटाउने कार्य गरि रहेको बताउनुभयो ।
