तेह्रथुम/ जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको हो ।
अपाङ्गता भएको छोरालाई नागरिकता बनाउन सदरमुकाम लिन नसक्दा उमेर पुगेको आठ वर्षपछि टोलीले घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको मेन्छ्यायेम–४ का भवानीप्रसाद लिम्बूले बताए र ‘बोल्न, सुन्न र हिँड्न नसक्ने २४ वर्षीय छोरालाई बोकेर जिल्ला सदरमुकाम जान सकेका थिएनौँ,’ उनले भने, ‘लै प्रमुख जिल्ला अधिकारीसहितको टोली घरमै आएर नागरिकता दिँदा निकै खुसी लागेको छ ।’
स्थानीय मन्दिरा खतिवडाले पनि मेरुदण्डमा समस्या भएकी छोरीलाई छोरीलाई घरमै आएर नागरिकता प्रदान गर्दा सहज भएको बताए । ‘बोल्न, सुन्न, हिँडडुल गर्न नसक्ने छोरीलाई बोकेर सदरमुकाम पुर्याउन निकै गाह्रो थियो । लामो कच्ची बाटोमा गाडीमा लिन पनि समस्या छ । पहिला अपाङ्गताको कार्ड बनाउन जाँदा मुस्किलले बोकेर लगिएको थियो, अहिले नागरिकता भने घरमै पाइयो,’ उनले खुसी व्यक्त गरिन् ।
यहाँ शुक्रबार पनि मेन्छ्यायेम गाउँपालिकाका बौद्धिक अपाङ्गता भएकी वडा नं ६ की बालकुमारी थापा र वर्षा नेपाली, शारीरिक अपाङ्गता भएकी वडा नं ५ की प्रमिला खतिवडा, वडा नं ४ का विमल लिम्बू र सञ्सिता लिम्बूलाई घरमै गएर जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको थियो । यस्तै पालिकामा शनिबार पनि पाँचजना अपाङ्गता भएकाहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको थियो ।