एमाले झापाको अधिवेशन– ढुंगेल पछाडी हटेपछि अध्यक्षमा प्रेम गिरी, सचिव र उपसचिवमा चुनावको सम्भावना

Author Nishkarsha News
२०८० चैत्र १७, शनिबार २१:३९

दमक/   नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रेमबहादुर गिरी निर्विरोध निर्वाचित भएका छन । यसअघि अध्यक्षका लागि गिरी र शिव ढुंगेलको दाबी रहेको समाचार बाहिर आएका थिए ।
निर्वाचन कार्यक्रम अनुसार आज शनिबार अन्तिम समयमा आएर गिरीले अध्यक्षमा र ढुंगेलले उपाध्यक्षमा मनोनयन दर्ता गराएपछि अध्यक्षमा गिरी र उपाध्यक्षमा ढुंगेल निर्विरोध निर्वाचित भएका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा ओलीको चाहना अनुसार गिरीले पार्टीको झापा जिल्ला अध्यक्षको जिम्मेवारी पाएका हुन ।

ओलीले गिरीको नेतृत्वमा ढुंगेलबाहेकका अन्य आकांक्षीलाई पद बाँडफाँड गरिदिने गोप्य तयारी गरेपछि ढुंगेल आफ्नो अडानबाट पछि हटेर उपाध्यक्षमा बस्न तयार भएका एमाले स्रोतले जनाएको छ ।उपाध्यक्षमा असारु राजवंशीलाई ल्याउने तयारी गरेपछि ढुंगेलजी अध्यक्षको दाबीबाट पछि हट्नु भयो – जिल्ला अधिवेशनमा सहभागी एक नेताले भने ।

अध्यक्ष, उपाध्यक्षसँगै महिला उपसचिवमा पनि एक जनाको मात्रै उम्मेदवारी परेका कारण सो पदमा अनिता कन्दङवा पनि निर्विरोध निर्वाचित भएकी हुन् ।
पार्टी संगठनमा महत्वपूर्ण भुमिका खेल्ने सचिव पदमा भने ओली निकटस्थ तुलसी कार्की र अर्का नेता दमक नगर कमिटीका पूर्व अध्यक्ष बोधराज घिमिरेको उम्मेदवारी परेको छ । त्यस्तै पुरुष उपसचिवतर्फ ३ जनाको मनोनयन दर्ता भएको बताइएको छ ।

यसैगरी उपसचिव पुरुष पदमा असारु राजबंशी, चन्द्र सुब्बा र टिकाराम मंग्रान्तीले उम्मेदवारी दर्ता गराएका छन् ।
अधिवेशन अन्तर्गत भोलि आइतबार निर्वाचन गर्ने तयारी भएपनि आज दिउँसो अध्यक्ष मण्डलको बैठकले भोलि दिनभर सहमतिका लागि समय तोकेको छ ।
सो समयमा पालिकाहरुका इन्चार्जसहितको टिमले सम्बन्धित भुगोलबाट आएका प्रतिनिधिहरुबीचमा सहमतिको प्रयास गर्ने एमाले स्रोतले जनाएको छ ।

जिल्ला भूगोलका उम्मेदवारहरु र बिर्तामोड भूगोलका सबै उम्मेदवारलाई आइतबार बिहान ८ बजे अधिवेशन हलमा छलफलका लागि बोलाइएको छ भने
अरु सबै पालिकाले आफ्नो भूगोलको पायक पर्ने स्थानमा उम्मेदवारहरु बीच छलफल गरी सहमति गर्न र दिउँसो ३ बजेभित्र अन्तिम नामावली अध्यक्षमण्डललाई बुझाउनु पर्ने निर्देशन गरिएको छ ।
आइतबार सहमति नभएका पदहरुमा सोमबार जिल्ला पार्टी कार्यालयमा मतदान हुने एमाले स्रोतले जनाएको छ ।

 

समाचार शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्