काठमाडौं/ सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आलोचना नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

मंगलवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले सरकारको बारेमा कुनै आलोचना गर्नुप¥यो भने पार्टीको अनुमति लिएर मात्रै गर्न सकिनेतर्फ पनि सिंगो पार्टी पंक्तिलाई सचेत गराए ।

‘म फेरि पनि दोहोर्‍याएर भन्न चाहन्छु–सरकारको आलोचनामा बोल्ने होइन । सरकारको कुनै आलोचना गर्नुपर्‍यो भने आन्तरिक रुपमा गर्दा हुन्छ’ उनले भने ‘किनभने नबुझिकन कहिलेकहिले देख्दा एक चिज देखिन्छ, तर चिज अर्कै भइदिन्छ ।’

अध्यक्ष ओलीले तराईमा डोरीलाई कहिलेकहिले सर्प भनेर झुक्किने गरेको दृष्टान्त पेश गर्दै त्यसैगरी सरकारको बारेमा जथाभावी बोल्दाखेरी राम्रो नहुने बताए ।

‘कहिले कहिले मान्छे हिँड्दाहिँड्दै तराईतिर खासगरी यस्तो हुन्छ । डोरीको त्यान्द्रो देख्यो भने सर्प रहेछ कि भनेर झसंग हुन्छ । अनि ठम्याएपछि सर्प हुँदैन, डोरी हुन्छ । अनि ढुक्क भएर हिँड्छ ओलीले थपे ‘त्यसकारण डोरीलाई सर्पजस्तो ठानेर यसो लामो त्यान्द्रो देखेपछि सर्प हो कि सजग हुनु पथ्र्योंं, झस्किनु पथ्र्यो । झस्केको ठिक छ । तर सर्प भनेर त्यतिखेर भनेपनि त्यो नहुन सक्छ । त्यसकारण प्याट्टप्याट्ट बोलिहाल्दा खेरी कहिले कहिले नराम्रो हुन्छ ।’

कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने छलफल गरेर त्यसलाई सन्तोषजनक, प्रशंशायोग्य बनाउने कुरामा पार्टीले योगदान दिने कार्य योजना समेत रहेको बताए ।

ओलीले भने‘कुनैपनि मन्त्रालयको काम सन्तोषजनक भएन भने हामी छलफल गर्नसक्छौ । त्यसलाई सन्तोषजनक बनाउने, त्यसलाई प्रशंशायोग्य बनाउने कुरामा हाम्रो योगदान हुन्छ । यदि कसैले त्यो बनाउन चाहेन भने त्यस सम्बन्धमा फरक ढंगले ट्रिटमेन्ट खोज्नुपर्ने हुनसक्छ ।’

अध्यक्ष ओलीले नयाँ गठबन्धन बनाउने काममा पहलकदमी गरेर प्रधानमन्त्री पुष्पकमल दाहालले राम्रो काम गरेकाले त्यसलाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको पनि दोहो¥याए ।

‘अहिलेको अवस्थामा उहाँले चालेको कदम सकारात्मक छ, राम्रो कदम’उनले भने ‘त्यसकारण मैले अघि नै भने–प्रधानमन्त्री कदम यो गठबन्धन त्याग गर्ने र नयाँ देशभक्त, प्रगतिशील, समाजवाद उन्मुख, जनमुखि यस्तो नयाँ समिकरण निर्माण गर्ने पहल जुन गर्नु भयो, यो स्वागतयोग्य कुरा हो ।’

Facebook Comments Box