दमक/ इलामको माङसेबुङ गाउँपालिकामा यही मसिंर १८ गते सोमबार स्थानीय सरकारले सार्वजनिक बिदा दिएको छ ।
किराँत धर्म गुरु आत्मानन्द लिङदेनको ७० औं जन्मोत्सवको अवसरमा गाउँपालिकाले सो दिन गाउँपालिका क्षेत्रभित्र लागू हुने गरि सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।
शुक्रबार सबै वडा कार्यालय, बिद्यालयहरु, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइ, सरकारी तथा गैह्रसरकारी संस्था, सिटिजन्स बैंक माङसेबुङ शाखा र गाउँपालिका कार्यालय समेत बिदा हुने गरी पत्राचार गरिएको अध्यक्ष राईले बताए । सार्वजनिक बिदा सम्बन्धिको सूचनामा धर्मगुरु आत्मनन्द लिङदेनको जन्मोत्सवको अवसरमा शुभकामनासहित दिईएको छ ।
किराँत धर्मगुरु लिङदेनको निवास माङसेबुङ गाउँपालिकाको लारुम्बामा पर्छ । यसदिन यस क्षेत्र र अन्य क्षेत्रमा समेत उनका अनुयायीहरुले विशेष महत्वसाथ जन्मोत्सव मनाउने गर्छन । धर्मगुरुको जन्मोत्सवमा विशिष्ट व्यक्तित्वहरुको समेत सो क्षेत्रमा आगमन हुनुका साथै विभिन्न सामाजिक तथा खेलकुदका कार्यक्रमहरु गर्ने गरिएको छ ।