दमक/ जातीय दुव्र्यवहार तथा छुवाछुतको आरोप लागेर धरौटीमा छाडिएका पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई अदालतले साढे ४ महिना कैद सजायको फैसला सुनाएको छ ।
०७९ माघ ९ गते १ लाख ५० हजार धरौटीमा छुटेका अधिकारीलाई बिहीबार जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैसाला गरेको हो । फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिवाना भनिएपनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।
योसँगै अधिकारीले साढे ४ महिना कैद र ७५ हजार जरिवाना र १० हजार पीडित महिनालाई क्षतिपूर्ति दिनुपर्ने छ ।
यसअघि जिल्ला जिल्ला अदालतका न्यायाधिश ऋषिराज आचार्यको एकल इजलासले १ लाख ५० हजारमा रुपैयाँमा अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
पोखरा वडा नम्बर २४ का वडा सदस्य मैया नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत ०७९ पुस २४ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् ।
त्यसलगत्तै प्रहरीले अभियुक्त वडाध्यक्ष अधिकारीलाई पुस २६ गते पक्राउ गरेको थियो । त्यसपछि जिल्ला अदालत कास्कीले पहिलो पटक ५ दिन र दोस्रो पटक १० दिन गरी २ पटक म्याद थप गरी अनुसन्धान गरिएको थियो ।
जाहेरीमा वडाध्यक्ष अधिकारीलाई पक्राउ गरी नेपालको संविधान, जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ बमोजिम कारबाही गर्न माग गरिएको थियो ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ मा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म कैद र ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था भएबमोजिम फैसला भएको हो ।
सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ । साथै कसुरदारले पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्ने प्रावधान थियो, सोही अनुसार फैसला भएको छ ।

 

Facebook Comments Box