दमक/ नेपाली काङ्ग्रेसको २७ मसिंरमा १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनको सम्पूर्ण मत परिणाम बाहिर आएको छ । एक साता भन्दा बढी समय लगाएर कांग्रेसले निर्वाचनको सबै पदको मतपरिणाम बिहिबार साँझ सार्वजनिक गरेको हो ।
यसैबीच कांग्रेसको केन्द्रीय सदस्यमा झापाका पाका कांग्रेस नेता केशवकुमार बुढाथोकी विजयी भएका छन् । यस अघि मनोनित केन्द्रिय सदस्य तथा पूर्व मन्त्री समेत रहेका नेता बुढाथोकी खस आर्य कोटामा सर्वाधिक मत ल्याएर विजयी भएका हुन । उनले दुई हजार ५४ मत ल्याएर केन्द्रीय समिति सदस्यका रुपमा आफूलाई दर्ज गराउन सफल भएका हुन । १४ औं महाधिवेशनमा झापाबाट महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्यहरुमा सांसद महेन्द्रकुमारी लिम्बु, सरिता प्रसाइँ र सुशीला ढकाल निर्वाचित भइसकेका छन । झापा क्षेत्र नम्बर २ को अर्जुनधारा नगरपालिका घर भएका बुढाथोकीले २०६४ मा झापाको क्षेत्र नं ५ बाट र २०७० मा क्षेत्र नं ४ बाट संविधान सभा सदस्यका रुपमा निर्वाचित भएका थिए । उनलाई झापामा कांग्रेस भित्रको बाघका रुपमा चिनिन्छ । बुढाथोकी सक्रिय राजनीतिबाट अलग हुने कतिपय कार्यकर्ताहरुको अनुमानका बीच केन्द्रीय सदस्यमा निर्वाचित भएपछि कांग्रेस झापाको वृत्तमा हलचल पैदा भएको छ ।

Facebook Comments Box