काठमाडौं/ सरकारले फास्ट ट्रयाकबाट संघीय शिक्षा ऐन ल्याउने तयारी गरेको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा सम्बन्धीे संघीय ऐन छिटो भन्दा छिटो संसदमा लैजाने तयारी गरिएको जानकारी गराएका हुन ।
‘होहल्ला गर्ने विधिभन्दा फास्ट ट्रयाकबाट शिक्षा ऐन मन्त्रिपरिषदमा लैजाने तयारीमा छौं,’ उनले भने, ‘यसका लागि समितिका सदस्यहरूले सहयोग गर्नुपर्छ ।’
बैठकमा मन्त्री पौडेलले भने ‘लामो समयदेखि यी ऐनहरू रोकिएकाले माध्यमिक, प्राविधिक तथा उच्च शिक्षामा असर परिरहेको छ, यी ऐनका मस्यौदाको तयारी अन्तिम अवस्थामा पुगिसकेको छ । फास्ट ट्रयाकबाट भए पनि ल्याउँछौं ।’ पूर्वशिक्षा मन्त्रीहरूले गरेको कामलाई निरन्तरता दिँदै संघीय शिक्षा ऐनका विषयमा सरोकारवाला पक्षहरूसँग छलफल भइरहेको जानकारी पनि बैठकमा उनले दिएका छन । सरोकारवाला पक्ष र विज्ञबाहेकका कुरा आफूले नसुन्ने पनि उनको भनाइ छ ।
‘कसैका प्रेसरले हँदैन,’ उनले भने ,‘ सम्बन्धित सरोकारवाला पक्ष र विज्ञका कुराबाहेक अन्य व्यक्तिको प्रेसर स्वीकार्य छैन ।’
स्थानीय र प्रदेश सरकारलाई संघीय सरकारको काम कर्तव्य प्रत्यायोजनको चरणमा रहेकाले धेरै कुराहरू संघीय शिक्षा ऐनले सम्बोधन गर्ने मन्त्री पौडेलले बताए । पूर्वप्राथमिक तहका शिक्षकको विषयमा स्थानीय तहलाई पारिश्रमिक दिन मन्त्रालयले सर्कुलर गरेको बताउँदै यसलाई थप बलियो बनाउन ऐनमा समावेश गर्ने उनको प्रतिवद्धता छ ।
