दमक/ नेकपा माओवादी केन्द्र प्रदेश नं १ को नेतृत्व चयनका लागि भर्खरै मतदान शुरु भएको छ ।
विराटनगरस्थित पार्टीको १ नं प्रदेश कमिटी कार्यालयमा आज (बुधबार) राती ९ बजेदेखि मतदान शुरु भएको त्यहाँस्थित पार्टी नेताहरुले जानकारी दिएका छन । माओवादी केन्द्रको प्रदेश कमिटी अध्यक्ष १ सहित ९ पदका लागि २९ जनाको उम्मेदवारी परेपछि आज मतदान गर्नुपरेको हो । सो पार्टीको प्रदेश कमिटी अध्यक्षका लागि मुक्सामहाङ सुब्बा लिम्बु (मुकेश) र हर्क बहादुर नेम्बाङ (मिक्सो)े उम्मेदवारका रुपमा चुनावी मैदानमा उत्रिएका छन । त्यसैगरी उपाध्यक्ष तीन पदका लागि ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा छ । उपाध्यक्षका लागि शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल (राजु), मणिकुमार साम्पाङ ( विजय), उर्मिला तामाङ (चन्दा) देवान चाम्लिङ (पृथ्वी), इन्दिरा मिश्र (चेतना) र मोहन बहादुर खत्री ( हेनरी) को उम्मेदवारी छ । त्यस्तै सचिव पदमा एकका लागि दुई जनाको उम्मेदवारी छ । प्रदेश कमिटी सचिवका लागि गणेश उप्रेती (सुशिल) र सीपि कँडरियाले उम्मेदवारी दिएका छन । सहसचिवमा कूल १३ जना र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी छ । कोषाध्यक्ष पदमा रेवतराज पुरी (गगन), मदनकुमार चुँडाल, बन्धना झाँगड र रामकुमार कार्कीले उम्मेदवारी दिएका जनाइएको छ ।
