दमक/ नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा संघीय संसद सदस्य महेन्द्रकुमारी लिम्बु निर्वाचित भएकी छिन । कांग्रेसको १४ औं महाधिवेशनबाट उनको राजनीतिक यात्राले पार्टीको केन्द्रीय समितिमा प्रवेश गरेको हो । झापाको दमक निवासी सांसद लिम्बु प्रदेश एकबाट महिला कोटामा केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा चुनावी मैदानमा थिइन । सोमबार राती सकिएको सो कोटा तर्फको मतगणनाको अन्तिम परिणाम उनको पक्षमा आएको बताइएको छ । निकटतम प्रतिस्पर्धीसंग ५ सय भन्दा बढी मतान्तरले विजयी भएकी नेतृ लिम्बुले कूल २२७४ मत प्राप्त गर्न सफल भएकी जनाइएको छ । उनीसंगको प्रतिस्पर्धामा ताप्लेजुङकी लिला बोखिम र झापाकै गोमा भट्टराई रहेका थिए ।
को हुन महेन्द्रकुमारी ? 
दमकलाई कर्मथलो बनाएकी लिम्बु करिब अढाई दशक अघिदेखि निरन्तर राजनीतिक यात्रामा छिन । प्रजातन्त्रका सेनानी स्वर्गीय मुगाधन राई र कृष्णकुमारीको कोखबाट पुख्र्यौली थलो भोजपुरमा जन्मिएकी उनले आफनो राजनीतिक तथा सामाजिक सक्रियता प्रदेश एकभरी नै कायम राखेकी छिन ।
पार्टीको महासमिति सदस्य तथा नेपाल महिला संघकी केन्द्रिय सदस्य समेत भईसकेकी सांसद लिम्बु दुई पटक सम्म समानुपातिक कोटामा पार्टीको तर्फबाट संघीय संसद सदस्य हुने भाग्यमानी नेतृ हुन । त्यसो त उनले २०६४ को संविधान सभा निर्वाचनमा पार्टीका तर्फबाट झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पनि चुनाव लडेकी थिइन । कांग्रेसले एमाले अध्यक्ष ओलीसंगको चुनावी प्रतिस्पर्धामा लिम्बुलाई उतारेपछि नै राजनीतिमा उनको उचाई बढेको हो । पार्टीमा उनको निरन्तरता र सक्रियताको मुल्याङकन गरेर समानुपातिक तर्फ महिला कोटामा उनलाई सांसद बनाएपछि उनको राजनीतिक भविष्य थप उज्यालो बनेको हो ।

Facebook Comments Box