दमक/ नेपाली काँग्रेसको दुई जना महामन्त्री पदका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाको अन्तिम मत परिणाम अनुसार थापा र शर्मा विजयी भएका हुन । पार्टीभित्र र बाहिर समेत चर्चाको केन्द्रमा रहने गरेका दुई युवा नेतालाई पार्टीको महत्वपूर्ण जिम्मेवारीमा पुरयाउन लामो समयदेखि कांग्रेस भित्र बढेको दबाबको १४ औं महाधिवेशनको परिणामले सम्बोधन गरेको छ ।

थापा डा. शेखर कोइरालाको प्यानलबाट चुनाव लडेका थिए भने सभापति शेरबहादुर देउवाको राजनीतिमा सारथी बनेका शर्मा भने यसपटक कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई देउवाले रोजेसंगै रिङ आउट हुन पुगेका थिए । जसका कारण कांग्रेसमा यसपटक सिटौला र शर्माको प्रभावको परीक्षा पनि चलिरहेको थियो । यो परीक्षामा नेता शर्मा पास भएका छन भने सिटौला फेल भएका छन । उनले महामन्त्रीमा अघि बढाएका युवा नेता प्रदिप पौडेल थापा र शर्माको अगाडी टिक्न सकेनन ।
डा. कोइरालाको समुहबाटनै महामन्त्रीको उम्मेदवार बनेका रक्षा मन्त्री समेत रहेका डा. मिनेन्द्र रिजालले भने मन्त्रीपदबाट राजिनामाको घोषणा गरेका छन । सामाजिक सञ्जाल मार्फत डा. रिजालले महामन्त्री पदमा आफनो पराजयसंगै सरकारमा मन्त्रीका रुपमा नबस्ने घोषणा गरेका हुन ।
को हुन् गगन थापा ?
कक्षा ९ मा पढ्दा पढदै २०४६ सालको जनआन्दोलनमा सहभागि बनेका गगन थापाको राजनीतिक यात्रा भने क्याम्पस पढ्न थालेपछि सुरु भयो । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी काँग्रेस निकट नेपाली विद्यार्थी संगठनमा लागे । नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उनी सभापति बने ।
२०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको सहभागिता रह्यो । उनी नेविसंघको महामन्त्री बने । थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे ।०६४ को चुनावपछि समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित भए । दोस्रो संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए ।०७४ को चुनावमा देशभर बाम गठबन्धन (एमाले– माओवादी)को लहरले पनि थापाको संसद यात्रामा ब्रेक लाउन सकेन । उनी काठमाडौं–४ बाट निर्वाचित भए ।
उनी काँग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरी केन्द्रीय सदस्य बन्न सफल भएका थिए । गगन १३ औँ महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए ।
महामन्त्रीमा पराजित भए पनि थापाले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक भने उनी कोइराला परिवारको लिगेसीसँग आफूलाई जोडेर महाधिवेशनको मैदानमा उत्रिएका हुन् ।
को हुन् विश्वप्रकाश शर्मा ?
प्रकाशमानको टिमबाट महामन्त्रीमा उठेका विश्वप्रकाश शर्मा ६ पुस ०२७ मा झापाको शान्तिनगरमा जन्मिएका हुन् । उनी ०३७ सालमा झापामा विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा लागेका थिए । २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका थिए ।
२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका उनी २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बने । २०५३ सालमा नेविसंघ महामन्त्री बनेका शर्मा २०५३ नेवि संघ केन्द्रीय उपसभापति भए ।
२०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बने भने २०५७ सालमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । नेविसंघको राजनीतिपछि शर्मा पार्टीको जिल्ला राजनीतिमा जाने प्रयास गरे । तर १२ औं महाधिवेशनमा उनी झापा जिल्ला सभापतिमा पराजित भए । २०७२ सालमा भएको १३ औं महाधिवेशनबाट उनी काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । शर्मा २०७४ सालमा नेपाली काँग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए भने २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बने । उनी ०७० र ७४ माम भएको आम चुनावमा झापा १ मा पराजित भएका थिए ।