दमक/ नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द “विप्लव ” पाँच दिनदेखि पूर्वका जिल्ला जिल्लामा पुगेका छन । विप्लवले १६ मसिंरमा सुनसरीबाट पूर्वी जिल्लाका विभिन्न ठाउँमा आयोजित कार्यक्रमहरुमा प्रत्यक्ष सहभागी भएर पूर्वमा व्यस्त रहेका हुन । विप्लवले १७ गते सुनसरीमा सहिद परिवारसंग भेटघाट गरे भने १८ गते विराटनगरमा पार्टीद्धारा आयोजित जनसभालाई सम्बोधन गरे । २० गते सुनसरीको धरानमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका उनी सोही दिन झापाको दमकस्थित बेलडाँगी आइपुगेका थिए । दमकतर्फ आउँदै गर्दा झापा र मोरङको सिमानादेखि नेकपा झापाका नेता तथा कार्यकर्ताले महासचिव विप्लव सहितको टोलीलाई स्वागत गर्दै उनको स्वागतमा नारा लगाएका थिए । उनले दमकमा सहिद परिवारसंग भेटघाट र अन्तरक्रिया गरेका थिए ।

बेलडाँगीस्थित पार्टी केन्द्रीय सदस्य तथा इलाम इन्चार्ज सुमनसिंह पौडेलको निवासमा महासचिव विप्लवले पार्टीका नेता कार्यकर्ता तथा शुभ चिन्तकलाई सम्बोधन गर्दै पुर्व आउन पाउँदा खुशी लागेको बताएका थिए । उनले नेपाली जनताको भविष्य बैज्ञानिक समाजवादले मात्रै उज्ज्वल पार्ने उदघोष पनि गरे । उनले संसदीय व्यवस्थाको कडा आलोचना गर्दै यो व्यवस्था रहेसम्म जो सुकै नेता सत्तामा पुगेपनि कुनै उपलब्धि नहुने भन्दै त्यसका लागि एकताबद्ध भएर जुटन आव्हान गरे ।

मंगलबार सबेरै आफ्ना नेता कार्यकर्तासहित इलामको श्रीअन्तु पुगेका महासचिब बिप्लवले इलामको श्रीअन्तुबाट सुर्योदयको अवलोकन पनि गरेका छन् । सुर्योदय हेर्दै उनले पूर्वको झुल्के घाम जस्तै पुर्वबाट क्रान्ती झुल्किन थालेको अनुभूति भएको उल्लेख गरेका थिए । सोमबार साँझ अन्तु पुगेका उनी सहितको २२ जनाको टोलि अन्तुका होटल व्यवसाहिहरुको स्वागत पछि त्यंहीको एक होटलमा बास बसेका थिए ।
विप्लवसंगै केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओली सुदर्शन, केन्द्रीय कार्यालय सचिब असल खड्का, केन्द्रीय सदस्यहरु सुमन लिम्बू, जोखिम बोहोरा, सुमनसिंह र सल्लाहकार सदस्य होम खतिवडा सहभागी छन ।
मंगलबार बिहानको सुर्योदय अवलोकन पछि उनी सहितको टोलीलाइ स्थानिय पर्यटन ब्यवसायी युवाहरुले स्वागत र अभिनन्दन गरेका थिए । सो अवसरमा महासचिव बिप्लवले श्रीअन्तुले अथाह पर्यटनको संभावना बोकेको बताए । यसको प्रवर्दनमा आफ्नो पुर्ण सहयोग रहने उनले बताए । अन्तु भ्रमण सकेर उनी मंगलबार इलामको फिक्कलमा आयोजित कार्यकर्ता प्रशिक्षणमा सहभागी भएका पार्टी स्रोतले जनाएको छ । उनीसहितका केन्द्रिय नेताहरुले दिएको प्रशिक्षणमा पूर्वका झापा, इलाम, ताप्लेजुङ र पाँचथरका कार्यकर्ताहरु सहभागी भएका जिल्ला पार्टी कार्यालय सचिव सञ्जय राईले जानकारी दिए ।
