दमक/ नेकपा माओवादी केन्द्रले देशैभर पालिकास्तरीय अधिवेशन शुरु गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ( प्रचण्ड)ले भर्चअल माध्यमबाट देशभरका सबै पालिकाहरुको एकसाथ उदघाटन गर्दै पार्टीका गाउँ नगर अधिवेशनले संगठनात्मक बिकासमा महत्वपूर्ण टेवा पुरयाउने विचार व्यक्त गरेका छन । यसैबीच माओवादी केन्द्र दमक नगर कमिटीको अधिवेशन वडा नं ८ बालुवाटारस्थित पार्टी कार्यालयमा शुरु भएको छ।

पार्टीका केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेश कमिटी सहइञ्चार्ज सावित्रीकुमार काफले (समर)को प्रमुख आतिथ्य र नगर कमिटी सहइञ्चार्ज वेदु गौतमको अध्यक्षतामा शुरु भएको अधिवेशन उदघाटन कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्यद्धय गगन पुरी र विरेन्द्र बस्नेत जिल्ला कमिटी सदस्यहरु रमेश गुरागाइँ, हुकुम नेपाली, दुर्गा चौंलागाइँ , वाइसिएलका प्रदेश नं १ संयोजक कर्म पूलामी लगायतले शुभकामना मन्तव्य राखेका छन । अधिवेशनको बन्द सत्र अहिले राती ९ बजे सम्म पनि जारी रहेको सहइञ्चार्ज गौतमले जानकारी दिए । बन्द सत्रमा पार्टीका नगर कमिटी सचिव तिर्थराज बस्नेत (शंकर)ले राजनीतिक प्रतिवेदन पेश गरेका छन ।

सो अधिवेशनले नगर कमिटीका अध्यक्ष १, उपाध्यक्ष ३ सहित सचिव सहसचिव र कोषाध्यक्ष एक÷एकसहित कूल ६५ सदस्यीय नगर कमिटी चयन गर्ने जनाइएको छ । दमकमा माओवादी केन्द्रका कूल १ हजार ५ सय ८२ जना पार्टी सदस्य रहेका जनाइएको छ । नगर कमिटी अध्यक्षका लागि पार्टीका सहइञ्चार्ज गौतम र सचिव बस्नेत दुई जनाले कार्यकर्ताहरुमाझ आआफनो दाबी पेश गरेका बताइएको छ । पार्टी नेतृत्वले नगर कमिटी चयनका बिषयमा आन्तरिक छलफल जारी राखेको र सर्वसम्मत बाटनै नेतृत्व चयन गर्ने कसरत भइरहेको जनाइएको छ । त्यसैगरी कमल, गौरादह, शिवसताक्षी लगायतका गाउँ/नगरपालिकाहरुमा पनि सो पार्टीको अधिवेशन धमाधम भइरहेका छन ।