दमक/नेकपा एमालेको १० औं महाधिवेशनमा झापाका करिब एक दर्जन नेताहरुले केन्द्रिय नेतृत्वको दाबी गर्दै आन्तरिक छलफलमा लागेका छन । शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गरेको महाधिवेशन अन्तर्गत शनिबार निर्वाचन कार्यक्रम शुरु हुनेछ ।
अध्यक्ष ओलीको गृह जिल्ला झापाबाट एमाले नेता कार्यकर्ताहरु ठुलो संख्यामा चितवन पुगेका छन । आफना समर्थक र शुभेच्छुक महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ताहरुसंग नेतृत्वका आकांक्षीहरुले आन्तरिक बहस र छलफल गरिरहेका बताइएको छ ।
यस अघि दुई पटक केन्द्रीय अनुशासन आयोगको सदस्य भएर काम गरिसकेका प्रदेश सभाका निर्वाचित सांसद समेत रहेका दमकका अर्जुन राई र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली तथा राष्ट्रिय सभा सदस्य समेत रहेका नेता देवेन्द्र दाहाल पार्टी केन्द्रिय सदस्य बन्नका लागि आन्तरिक कसरतमा लागेका बताइएको छ । राई जिल्ला विकास समितिका सभापति समेत भएर काम गरिसकेका अनुभवि नेता हुन् भने उनी प्रदेश १ को योजना तथा शुसासन समितिका सभापति पनि हुन् ।
दमकका नगरप्रमुख ओलीले पार्टीको स्थानीय निकाय परिचालन विभागको सदस्य भएर काम गरेका छन् भने डेढ दशक अघिनै जिल्लाको पार्टी उपप्रमुखको अनुभव पनि लिएका छन् । स्थानीय स्तरमा अलग किसिमको पहिचान बनाएका ओली २०५४ सालको स्थानीय निर्वाचनमा पनि दमक नगरपालिकाको प्रमुख बनेका थिए । पार्टीको दमक नगर कमिटीले पत्रकार सम्मेलननै गरेर राई र ओलीको उम्मेद्वारी घोषणा गरेको हो । पार्टीको केन्द्रिय उपाध्यक्षमा झापाकै नेता देवराज घिमिरेले उम्मेदवारी दिने यस अघिनै सार्वजनिक भइसकेको छ । त्यस्तै झापा क्षेत्र नं ४ बाट निर्वाचित सांसद एलपी साँवा लिम्बु पनि केन्द्रिय सदस्यका उम्मेदवार रहेका बताइएको छ ।
प्रदेश १ कमिटीका अध्यक्ष समेत रहेका घिमिरे नै पार्टी अध्यक्ष ओली पछि उच्च पदमा उम्मेद्वारी घोषणा गर्ने नेता हुन् । यसैगरी दुई पटक संविधानसभा सदस्य बनेका दिपक कार्की, जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, विगतमा प्रदेश १ सामाजिक विकास राज्यमन्त्री बनेकी जसमायाँ गजमेर पनि केन्द्रीय सदस्यका आकांक्षी हुन सक्ने एमाले वृत्तमा चर्चा छ ।
त्यस्तै वैकल्पिक पोलिटव्युरो सदस्य बनि सकेका नरेश खरेल, प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेल पनि अरु दावेदार हुने सम्भावना रहेको छ । झापाबाट केन्द्रीय सदस्य हुन सक्ने मध्ये मेनुका काफ्लेलाई बलियो उम्मेद्वारको रुपमा हेरिएको छ । कमल गाउँपालिकाकी अध्यक्ष समेत रहेकी उनी प्रदेश १ कै एक्लो महिला स्थानीय तह प्रमुख हुन् । अखिल नेपाल महिला संघको केन्द्रय सचिव समेत भइसकेकी उनी झापाबाट केन्द्रीय सदस्यको उम्मेद्वार हुने मध्ये बलियो महिला उम्मेद्वार हुने सम्भावना देखिन्छ ।
यसैबीच नेकपा एमालेको १ नम्बर प्रदेश सम्पर्क कमिटीका अध्यक्ष ईन्द्र भण्डारीले सम्पर्क समन्वयबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन । चितवनमा सुरु भएको दसौं राष्ट्रिय महाधिवेशनमा उनले खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन । अध्यक्ष ओली गृहमन्त्रीदेखि प्रधानमन्त्री हुँदासम्म स्वकीय सचिवको जिम्मेवारीमा रहेर काम गरेका भण्डारी प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रका विकास निर्माणका योजनाहरुहरुमा प्रत्यक्ष रुपमा संलग्न भएर सहयोग पुरयाउँदै आएका नेता हुन । भण्डारीले एमालेको झापा–काठमाडौं सम्पर्क मञ्च, तत्कालिन मेची अञ्चल सम्पर्क कमिटीलगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन ।

 

Facebook Comments Box