दमक/ झापाको क्षेत्र नं ५ मा कांग्रेसको प्रभावशाली नेता कृष्ण प्रसाद सिटौला समुहका मुख्य नेता मानिने शेरबहादुर भट्टराई १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेर अन्तिम समयमा आएर पछि हटेका नेता हुन । भट्टराई एकाएक आफनो उम्मेदवारीबाट पछि हटनुका पछाडी सो समुह कमजोर रहेको आंकलन कांग्रेस वृत्तमा भएको थियो ।
अन्तत क्षेत्र निर्वाचनको परिणाम पनि त्यस्तै प्रकृतिको आयो । यसले नेता भट्टराई चुनावी परिणामको पूर्व अनुमान लगाउन सक्ने नेता भएको पुष्टि गरेको छ । परिणाम अनुसार खुल्ला तर्फका १० मध्ये हुकुमसिंह राई सर्वाधिक ४५२ मत पाउन सफल भएर कांग्रेस अधिवेशनमा मेन अफ द इलेक्सनका रुपमा दर्ज भएका छन । राई यस अघि सिटौलाका नजिकका पात्र भएपनि क्षेत्रीय अधिवेशन नजिकिँदै जाँदा भने विश्वप्रकाश शर्मा समुहसंग नजिक भएका थिए । राईले दुवै समुहका नेता कार्यकर्ताहरुको समर्थन पाएकै कारण सर्वाधिक मत ल्याउन सफल भएका हुन सक्ने अनुमान गरिएको छ । स्थानीय निर्वाचनमा कमलमा ल्याएको परिणाम र त्यसपछि पनि निरन्तर पार्टीमा देखाएको सक्रियताले उनलाई साझा नेताका रुपमा स्थापित गराएको अनुमान गर्न सकिन्छ ।
यस अघि यहाँको सर्वाधिक मत ल्याएर जित्दै आएका नेता भट्टराई भने लामो समयदेखि निरन्तर पार्टी संगठनको नेतृत्वमा भएपनि पूर्व घोषित उम्मेदवारीबाट पछि हटनुलाई यो अधिवेशनमा अर्थपूर्ण रुपमा हेरिएको थियो । सोसंगै उनले पार्टीको जिल्ला उपसभापतीमा उम्मेदवारीको घोषणा गरेका छन ।
महासमिति सदस्य रहेका भट्टराई पूर्व क्षेत्रीय सभापति पनि हुन । उनीमाथि सिटौलाकै समर्थकहरुलाई समेत समेटन नखोजेको आरोप लाग्ने गरेको छ । यसबाट उनी चुनावमा आफनै समुहको प्रहार पर्न सक्ने बुझेर महाधिवेशन प्रतिनिधिको उम्मेदवारीबाट पछि हटेको हुन सक्ने अनुमान पनि कांग्रेस वृत्तमा छ ।
सिटौला समुहका स्थानीय नायकका रुपमा चिनिने उनी १४ औं महाधवेशन अन्तर्गत झापा ५ को प्रदेश सभा क्षेत्र क र खको परिणामपछि एकाएक पछि हटे । सिटौला समुह यस क्षेत्रमा कमजोर भएको नभई नेता विश्वप्रकाश शर्माका समर्थक समुहलाई केही मध्यमार्गी नेता कार्यकर्ताहरुको समेत समर्थन प्रमुख कारण बनेको छ । प्रदेश सभा क्षेत्रको परिणाम घोषणापछि केही पूराना पाका नेतृत्वलाई यसपटकको निर्वाचनबाट बिश्राम दिने कार्यकर्ता पंक्तिबाट उठेको आवाजलाई सुनेर भट्टराइले त्यस्तो निर्णय लिएका हुन सक्ने पनि चर्चा छ ।
यस अघि महाधिवेशन प्रतिनिधिमा उच्च मत ल्याएर विजयी हुँदै आएका भट्टराई अब सो समुहको जिल्ला उपसभापतिका उम्मेदवारका रुपमा आएका छन । उनको यो निर्णयलाई राजनीतिक जिवनको महत्वपूर्ण निर्णयका रुपमा लिइएको छ । भट्टराई महाधिवेशन प्रतिनिधिको चुनावबाट पछि हटेपछि सो समुहको दमकका एक जना सालिन र निष्ठावान मानिएका नेता देवी प्रसाद दाहालले नेतृत्व गरेका थिए । उनी झिनो मतान्तरका कारण खुल्ला तर्फका १० महाधिवेशन प्रतिनिधि चुनिनबाट रोकिएका छन । निर्वाचित १० जनाको समुहमा पर्न उनलाई ३/४ मतको कमि भएको छ । दाहालले ३०१ मत पाए भने उनी भन्दा धेरै ३०४ मत ल्याएका टिकाराज सापकोटा महाधिवेशन प्रतिनिधिको अन्तिम सूचीमा परे । सापकोटा र दाहाल सिटौला समुहको समर्थन रहेको टिमबाटनै उम्मेदवार बनेका थिए । त्यसैगरी महाधिवेशनमा दोश्रो स्थान ओगटदै प्रतिनिधि चुनिएका अर्का नेता डा. खगेन्द्र पाण्डव अधिकारी विश्वप्रकाश समुहको समर्थनमा उम्मेदवार थिए । उनले ४४२ मत पाएका छन । यस अघिको प्रतिनिधि सभा निर्वाचनमा केपी ओलीसंगको प्रतिस्पर्धामा उत्रिएका उनले पार्टी भित्र राम्रो मत ल्याउन सफल भएका हुन । अधिकारीछि सिटौलाको समर्थन रहेको भनिएको समुहबाट उम्मेदवार बनेका रोहितकुमार साहले तेस्रो स्थानमा आफूलाई उभ्याउन सफल भएका छन । गौरादह नगरको प्रमुखका रुपमा समेत रहेका साह पनि यो निर्वाचनमा चर्चाका प्रमुख पात्र मध्ये एक हुन । उनी ३५८ मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएका छन । साहलाई सिटौला समर्थक समुहले पटक पटक क्षेत्रीय सभापतिमा उम्मेदवारीका लागि प्रस्ताव गरेपनि इन्कार गर्दै महाधिवेशनमा जाने निधो गरेका थिए । साहपछि चौथो स्थानमा गौरादह २ का वडाध्यक्ष समेत रहेका शर्मा समुहका युवा नेता हेमन्त कार्की निर्वाचित भए । कांग्रेस निर्वाचनका अर्का चर्चाका पात्र दमक निवासी अर्का नेता सुरेश सुब्बा पाँचौं स्थानमा रहेर महाधिवेशन चुनिन सफल भए । उनी विश्वप्रकाश शर्मा समुहका प्रमुख नेताका रुपमा चिनिन्छन ।
छैठो स्थानमा सिटौला समर्थक समुहबाट उम्मेदवार बनेका राजन बहादुर ढुंगाना निर्वाचित भएका छन । ढुंगाना झापा ५ ख मा प्रदेश सभा क्षेत्रको निर्वाचन लडेका प्रत्यासी पनि हुन ।
स्थानमा सो समुहबाट उम्मेदवारी दिएका युवा नेता मेदनी प्रसाद सिटौला परिणामपछि कांग्रेसको स्थानीय राजनीतिमा स्थापित बनेका छन । यस अघि समेत भातृ संगठनको कोटामा महासमिति सदस्यका रुपमा मनोनित भएका सिटौला नेविसंघका पूर्व उपाध्यक्ष हुन । सिटौलासंगै नेविसंघकी नेतृ तुलसा पन्त, नेता निरज अग्रवाल पनि यसपटकको महाधिवेशन प्रतिनिधिमा चुनिन सफल भएका छन भने विश्वप्रकाश शर्मा समर्थक समुहका अर्का युवा नेताहरु अइन्द्र केरुङ १३ औं महाधिवेशनबाट नै चुनिएका हुन । शर्मा समुहका हेमन्त कार्की र भुपालराज कटुवाल पनि महाधिवेशन प्रतिनिधि चुनिन सफल भएका छन । कार्कीले ३५८ मत ल्याएर चौथो स्थानमा जित हासिल गरे भने भुपालराज कटुवाल ९ औं स्थानमा अटन सफल भए ।
कांग्रेस अधिवेशनमा यस क्षेत्रबाट अर्का एक जना पुराना नेता अनिलकृष्ण प्रसाइँको राजनीतिक यात्राले निरन्तरता पाएको छ । उनी ८ औं स्थानमा महाधिवेशन प्रतिनिधि चुनिन सफल भएका छन । खस आर्य कोटामा दुई पुरुष महाधिवेशन प्रतिनिधि चुनिएका मध्ये डा. नेत्र बुढाथोकी दमक बहुमुखी क्याम्पसका प्रमुख पनि हुन । उनी शर्मा समुहको समर्थन पाएर चुनिएका हुन भने विक्रम अधिकारी सिटौला समुहको समर्थनमा चुनिएका महाधिवेशन प्रतिनिधि हुन ।
आदिवासी जनजाती समुहको पुरुष तर्फ युवा नेताका रुपमा अइन्द्र केरुङ र भुमिराज राई महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन । उनीहरु दुवै जना शर्मा समुहको समर्थन रहेका नेता हुन । दलित महाधिवेशन प्रतिनिधिमा अमर बराईली निर्वाचित भए उनी सिटौला समुहको समर्थनमा उम्मेदवार बनेका थिए ।
महिलाको परिणाममा देखियो सन्तुलन
महाधिवेशन प्रतिनिधि चयनमा मतदाताले महिला नेतृहरु पनि सन्तुलित रुपमा चुनेका छन । खुल्ला महिला तर्फ सांसद समेत रहेकी नेतृ महेन्द्रकुमारी लिम्बु, दमक नगर उपप्रमुखकी उपविजेता नेतृ रेगिना भट्टराई क्रमश शर्मा र सिटौला समुहबाट उम्मेदवार चुनिएका छन । खुल्ला महिला महाधिवेशन प्रतिनिधमा उनीहरुसहित कूल ४ जना चुनिएका हुन । खस आर्य कोटाबाट महिला महाधिवेशन प्रतिनिधिमा सिटौला समुहको समर्थन पाएकी मन्धरा चिमरिया पौडेल र शर्मा समुहको समर्थन पाएकी चन्द्रा खडका भट्टराई निर्वाचित भए । आदिवासी जनजाती महिला समुहमा शर्माको समर्थन रहेको समुहकी उम्मेदवार रमा लिम्बु र सिटौला समुहको समर्थन पाएकी फुलवती राजवंशी महाधिवेशन प्रतिनिधि चुनिन सफल भए । लिम्बु नयाँ पुस्ताकी उदाउँदो नेतृ मानिन्छिन भने राजवंशी यस अघि गौरीगञ्ज गापाको अध्यक्षको प्रत्यासी हुन । उनी पार्टीको महासमिति सदस्य पनि हुन ।
बुढाथोकी बाहिरिए
यस क्षेत्रको कांग्रेस निर्वाचनका अर्का एक नायक मानिने नेता दिल बहादुर बुढाथोकीका लागि १४ औं महाधिवेशन सुखद रहन सकेन । बुढाथोकी नगर तहको निर्वाचनदेखिनै तेस्रो समुह बनाएर चुनावी मैदानमा थिए । उनले हाँकेको नगर सभापति रोशन विष्ट समुहको नेतृत्वनै नगरमा पराजित भएपछि निराश बनेका थिए । प्रदेश सभा क्षेत्र ख मा उनले शर्मा समुहको समर्थन पाएर रवि केसी नेतृत्वको टिमलाई विजयी गराउन सफल भएपनि त्यो गठबन्धन मतदाता सामु टिक्न सकेन । उनी शर्मा समुहको समर्थनमा महाधिवेशन प्रतिनिधिको चुनाव लडेका थिए । मतदाताले उनलाई यसपटकको महाधिवेशन प्रतिनिधिको सूचीमा अटाउन मानेनन । जसका कारण उनका पक्षमा परिणाम आउन सकेन ।