दमक/ सोमबार सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत झापा क्षेत्र नं ५ मा भएको निर्वाचनको अन्तिम मतपरिणाम आज मंगलबार बिहान सार्वजनिक भएको छ ।
सार्वजनिक भएको मत परिणाम अनुसार क्षेत्रीय सभापतिमा ढुण्डीराज भण्डारी कूल ४४७ मत ल्याएर विजयी भएका छन । उनी दोश्रो कार्यकालका लागि सभापति निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धी रोशन गौतम रहेका थिए ।
भण्डारीलाई विश्वप्रकाश शर्मा समुहको समर्थन थियो भने गौतमलाई कृष्ण सिटौला समुहको समर्थन रहेको चर्चामा आएको थियो । क्षेत्रीय सचिवमा भण्डारीको प्यानलका धर्मानन्द भट्टराई र गौतमको प्यानलका मुकुन्द उप्रेती निर्वाचित भएका छन त्यसैगरी सहसचिवमा गोपालराज दाहाल र डिल्ली चापागाइँ निर्वाचित भएका छन । त्यसैगरी खुल्ला तर्फ निर्वाचित केन्द्रिय महाधिवेशन प्रतिनिधि १० जनामा हुकुमसिंह राई सर्वाधिक मत ल्याएर विजयी भएका छन उनले ४५२ मत प्राप्त गरेर पहिलो स्थान ओगटन सफल भएका हुन । राइपछि डा. खगेन्द्र पाण्डव अधिकारी दोश्रो स्थानमा र गौरादह नगरपालिकाका प्रमुख समेत रहेका रोहितकुमार साह तेस्रो स्थानमा महाधिवेशन प्रतिनिधिका रुपमा विजयी भएका छन ।
त्यस्तै हेमन्त कार्की, सुरेश सुब्बा, राजन बहादुर ढुंगाना, मेदनी प्रसाद सिटौला, अनिलकृष्ण प्रसाइँ, भुपालराज कटुवाल र टिकाराज सापकोटा निर्वाचित भएका छन । खुल्ला महिला तर्फ संघीय संसद सदस्य समेत रहेकी महेन्द्रकुमारी लिम्बु, रेगिना भट्टराई प्रसाइँ, लक्ष्मी बारकोटी र तुलसा पन्त विजयी भएका छन भने आदिवासी जनजाती समुह (पुरुष तर्फ) अइन्द्र विक्रम केरुङ र भुमिराज राई विजयी भएका छन भने महिलामा रमा लिम्बु र फुलवती राजवंशी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन ।
त्यसैगरी खस आर्य पुरुष तर्फ विक्रम अधिकारी र डा. नेत्र बुढाथोकी विजयी भएका छन । खस आर्य महिला तर्फ भने मन्धरा चिमरिया पौडेल र चन्द्राकुमारी खडका निर्वाचित भए । मधेसी कोटामा सत्यनारायण चौधरी र अल्पसंख्यकको कोटामा निरज अग्रवाल निर्वाचित भएका छन । १४ औं महाधिवेशनको प्रतिनिधिका रुपमा केही युवा पुस्ताका नेताहरु उदाएका नतिजाले देखाएको छ । पार्टीको हरेक चुनावमा यस क्षेत्रमा निर्णायकको भुमिका निर्वाह गर्ने गरेका शेर बहादुर भट्टराई अन्तिम समयमा आएर महाधिवेशन प्रतिनिधिको उम्मेदवारबाट ब्याक भए भने दिल बहादुर बुढाथोकीले मतदाताको मन उल्लेख्य मात्रामा जित्न नसक्दा चुनावी हार ब्यहोर्न बाध्य भए अर्का निर्णायक शक्ति मानिने गरेका नेता सुरेश सुब्बाको पनि स्थान अघिल्ला निर्वाचनमा भन्दा यसपटक तल झरेको छ । सरल, शालिन र निष्ठावान नेताको पहिचान बनाएका अर्का नेता देवी प्रसाद दाहाल झिनो मतान्तर (३ मत)ले महाधिवेशन प्रतिनिधि चुनिनबाट बञ्चित भएका छन । उनी १३ औं महाधिवेशनमा पनि क्षेत्रीय सभापतिमा पराजित भएका थिए । दाहाल पार्टीको जिल्ला कोषाध्यक्ष भइसकेका नेता हुन ।
यो निर्वाचनमा अन्य दलसंग सबै तहका निर्वाचन लडेका बहुसंख्यक उम्मेदवारहरु मतदाताको रोजाइमा परेका छन भने गौरीगञ्जका निर्वाचित उपाध्यक्ष दिपेन्द्र थापा र वडा नं ३ का वडाध्यक्ष मखना महतोले अन्तिम समयमा चुनावी परिणाम आफनो पक्षमा ल्याउन सकेनन ।

Facebook Comments Box