दमक/ झापाको दमक ९ ( साविक वडा नं १४) का युवा व्यक्तित्व विक्रम अधिकारी नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा खस आर्य कोटाबाट केन्द्रिय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने भएका छन ।
यस अघि पार्टीको स्थानीय वडा समितिदेखि नगर समिति हुँदै १३ औं महाधिवेशनमा झापा जिल्ला समिति सदस्यमा निर्वाचित अधिकारीले आफू पार्टीमा युवा नेतृत्व स्थापित गर्ने लक्ष्यसहित महाधिवेशन प्रतिनिधिको रुपमा उम्मेदवार बन्न लागेको बताए । अधिकारी सुबेदार स्व. डम्बर बहादुर अधिकारीका नाती तथा गणेश अधिकारीका छोरा हुन ।

अधिकारी परिवारले दमकको शैक्षिक बिकासमा दमक बहुमुखी क्याम्पसमा विशेष योगदान गरेको छ । आफनो परिवारको बिरासत स्मरण गर्दै आफू पनि राजनीतिलाई माध्यम बनाएर समाजका लागि योगदान दिनका लागि पार्टीको महाधिवेशन प्रतिनिधिका रुपमा जान चाहेको अधिकारीले बताए । सरल र मिलनसार स्वभावका अधिकारीले यस क्षेत्रका अग्रज तथा समकालिन युवा महिला, बिद्यार्थी सबैको साथ सहयोग रहने विश्वास लिएको बताएका छन । खस आर्य कोटामा झापा क्षेत्र नं ५ बाट कूल दुई जना प्रतिनिधि निर्वाचित हुनुपर्नेछ । हाल सम्म दुई जनाको लागि सो पदमा अधिकारीसहित करिब आधा दर्जन सम्भावित उम्मेदवारको नाम सामाजिक सञ्जाल मार्फत बाहिर आएको छ । अधिकारीसंगै दमकमा शैक्षिक तथा बौद्धिक व्यक्तित्वको रुपमा उदाएका उदियमान युवा नेतृत्व तथा नेविसंघ झापाका पूर्व नेता श्याम प्रसाद आचार्य, शैक्षिक क्षेत्रमा लामो समयदेखि क्रियाशील , नेपाल शिक्षक संघका पूर्व क्षेत्रीय अध्यक्ष देवीभक्त निरौला, दमकका व्यवसायी जिवन न्यौपाने लगायतले पनि सामाजिक सञ्जाल मार्फत सो पदमा आफनो उम्मेदवारी रहने बाहिर ल्याइसकेका छन ।