दमक/दिनेश अग्रवाल दमकमा परिचित सक्रिय युवा व्यक्तित्व हुन । दमक १९ मा २०३५ सालमा जन्मिएका अग्रवालले यहाँको सामाजिक तथा व्यवसायिक क्षेत्रमा आफनो अलग पहिचान बनाएका छन । सालिन र भद्र स्वभावका अग्रवालको परिचय सामाजिक तथा व्यवसायिक क्षेत्रसंग राजनीतिमा पनि जोडिएको छ ।

पारिवारिक पृष्ठभुमी समेत नेपाली कांग्रेससंग जोडिएका अग्रवाल व्यापार आफनो पैतृक पेशा भएकाले राजनीति आफनो सामाजिक सेवाका लागि रोजेको बताउँछन । दमक उद्योग वाणिज्य संघको कार्यसमितिमा समेत रहेर सामाजिक क्षेत्रमा आफूलाई सशक्त रुपमा उभ्याएका उनी आफनो समुदाय मारवाडी सेवा समिति दमकको निवर्तमान अध्यक्ष पनि हुन । आफूहरुको परम्परागत पेशानै व्यापार भएकाले व्यापारबाट आर्जेको मुनाफाको केही प्रतिशत सामाजिक सेवाका क्षेत्रमा पनि खर्चिनु पर्छ भन्ने उद्धेश्यले सामाजिक संघ संस्थाहरुमा पनि जोडिएको हो ।


समाजसेवाको फराकिलो क्षेत्र राजनीति हो भन्ने बुझाइका कारण उनले राजनीतिमा लिनका लागि होइन दिनका लागि सक्रियता देखाएको  बताउँछन । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भर्खरै भएको वडा अधिवेशनमा दमक ६ बाट सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चुनिएका उनी कांग्रेसको दमक नगर नेतृत्वमा बसेर कार्यकारी भुमिका निर्वाह गर्न चाहेको बताउँछन ।

दमकमा कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुन लागेको अधिवेशनमा आफूले नगर सचिवको जिम्मेवारी लिन चाहेको उनले बताए । अहिले कांग्रेस दमकको नेतृत्व चयनका लागि हुने तयारीमा रहेको निर्वाचनमा मारवाडी समुदायबाट समुदायका उनी एक मात्र उम्मेदवार हुन ।  व्यवसायिक क्षेत्रमा समेत निरन्तर सक्रिय हुँदै वाणिज्य संघ, दमक जेसीज, लायन्स क्लब लगायतको नेतृत्वमा समेत पुगिसकेका उनले संघका पूर्व अध्यक्ष समेत रहेका प्रकाश प्रसाइँ नेतृत्वको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन । सबै साथीभाई र अग्रज नेताहरुसंगको परामर्श र छलफलपछि आफू कांग्रेस दमक नगर समितिको नेतृत्वमा आउनका लागि मतदाताहरुसंग साक्षात्कारमा लागेको उनले बताए । अग्रवालले भने– म कांग्रेसबाट केही लिनका लागि आउन चाहेको होइन मेरो ज्ञान, बुद्धि र  क्षमताले भ्याए सम्म दमकलाई केही दिनका लागि नगर सचिवको जिम्मेवारी लिन तयार भएको हुँ । मलाई विश्वास छ सबैले मलाई साथ दिनुहुनेछ ।

Facebook Comments Box